जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोप लागेका एक पुरुष मृत फेला परेका छन्। धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने चार वर्षीय छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा पुगेर ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राटमाथि धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए। सोही राति करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेर उनी फरार भएका थिए।
घटनाको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुग्दा रिना घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। छोराको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो। उनलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कु बरामद गरेको छ। फरार उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
















प्रतिक्रिया