सामाजिक सञ्जालमा भिडियो राखिदिने धम्की, चार जना प्रहरीको नियन्त्रणमा


काठमाडौं । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै रकम असुल गरेको आरोपमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आरोपितहरूले एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो बनाएका थिए। उक्त भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै उनीहरूले पीडितका अभिभावकबाट मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँ असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।