काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आइतबार मन्दिरमा पुगेर नवदुर्गाको दर्शन तथा पूजा गरेका हुन्।
भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपराह्न पुगेका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरेका थिए।
पूजाका क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन गर्नुका साथै दर्शन गरेका थिए। उनले नवदुर्गाका पुजारी, नाइके तथा देवगणलाई दक्षिणासमेत प्रदान गरे। सो अवसरमा परम्पराअनुसार प्रस्तुत गरिने परम्परागत नृत्यसमेत देखाइएको थियो।
नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गर्ने परम्परा छ। भक्तपुरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको नवदुर्गा परम्परामा देवगणको पूजा र नृत्यको विशेष महत्त्व रहँदै आएको छ।
सो अवसरमा मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद प्रदान गरेका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका हुन्।
बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पुगेर पूजा गर्ने परम्परा रहिआएको छ। यस परम्पराले भक्तपुरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्दै आएको छ।

















प्रतिक्रिया