एनपीएल २०२६ को विजेताले १ करोड ५० लाख पाउने, अघिल्ला दुई संस्करणमा कति थियो पुरस्कार ?


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। प्रतियोगिताको उपविजेताले ८० लाख र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले पुरस्कार राशिबारे जानकारी गराएका हुन्।

एनपीएलको तेस्रो संस्करण भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यसअघि एनपीएलका पहिलो र दोस्रो संस्करणका विजेताले समान १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएका थिए। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेका थिए।

यसपटक विजेताको पुरस्कार राशि अघिल्ला दुई संस्करणको तुलनामा ४० लाख रुपैयाँले बढाइएको छ। त्यस्तै, उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि पनि क्रमशः ८० लाख र ४० लाख रुपैयाँ तोकिएको छ।

यसैबीच, प्रतियोगिता सुरु हुनुअघि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। विगतका संस्करणमा देखिएका शौचालयको अपर्याप्त सुविधा र आवतजावतका क्रममा धुलोको समस्यालाई सुधार गर्दै यसपटक दर्शक, खेलाडी तथा सञ्चारकर्मीलाई सहज वातावरण उपलब्ध गराउने तयारी गरिएको छ।

आठ टोलीबीच हुने प्रतिस्पर्धामा यसपटक कुन टोलीले उपाधि जित्दै डेढ करोड रुपैयाँ पुरस्कार हात पार्छ भन्ने चासो खेलप्रेमीमाझ बढेको छ।