सप्तकोसीमा मोटरबोट दुर्घटना : ३ को मृ-त्यु, ३ को खोजी जारी


काठमाडौँ । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। आइतबार दिउँसो धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आइतबार दिउँसो करिब २ बजे मोटरबोट दुर्घटनामा परेको थियो। भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको उनले जानकारी दिए।

दुर्घटना हुँदा मोटरबोटमा १४ जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ। त्यस्तै, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहित नौ जनाको टोली पनि उद्धार कार्यमा परिचालन गरिएको छ।

बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जनाइएको छ। मोटरबोट दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।