काठमाडौँ । अफ्रिकी मुलुक केन्याको मुख्य राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा दुर्घटना भएको हो। सोही राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को ठूलो दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए। उनीहरू सवार बस र ट्रक आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हो।
माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। घाइतेहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।
दुर्घटना के कारणले भयो भन्नेबारे तत्काल स्पष्ट भएको छैन। केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति र सडकको खराब अवस्थालाई लिने गरिएको छ।
केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणले दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ। प्राधिकरणले यस क्षेत्रमा दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारका लागि विभिन्न सुझावसमेत दिएको थियो।
लगातार भइरहेका घातक दुर्घटनाले केन्यामा सडक सुरक्षाको चुनौतीलाई फेरि उजागर गरेको छ। पछिल्लो दुर्घटनाबारे थप अनुसन्धान र विवरण सार्वजनिक हुन बाँकी छ।

















प्रतिक्रिया