काठमाडौँ । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम निर्धारित मितिभन्दा पछि सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यसअघि कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैँ परेकाले कात्तिक १७ र १८ गते गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको थापाले जानकारी दिए।
सरकारका अनुसार यस चरणमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
स्वास्थ्य निकायले निर्धारित मितिमा नजिकको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ तथा उमेरअनुसार जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

















प्रतिक्रिया