चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनताका समस्या बुझ्न र सरकारका कामबारे जानकारी दिन मन्त्री आफैँ जनतामाझ पुग्नुपर्ने बताएकी छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताइन्। सरकारले गरिरहेका काम तथा आगामी योजनाबारे जनतालाई जानकारी गराउन आफू चितवन आएको उनको भनाइ थियो।
मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचत फसेका नागरिकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको जनाउँदै त्यसलाई थप तीव्रता दिइने बताइन्। लामो समयदेखि बचत फिर्ता नपाउँदा पीडामा रहेका नागरिकलाई सकेसम्म छिटो रकम उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्।
“धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ,” उनले भनिन्।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री रावलले जनताका गुनासा प्रत्यक्ष सुन्न र उनीहरूका समस्या बुझ्न मन्त्री आफैँ जनतामाझ पुग्ने अभियानमा रहेको बताइन्।
उनका अनुसार सरकारले जनताको हितमा के काम गरिरहेको छ र आगामी दिनमा के गर्ने योजना बनाएको छ भन्ने जानकारी नागरिकसम्म पुर्याउन आवश्यक छ। जनताले सरकारका काम र योजनाबारे जान्न चाहेको उनको भनाइ थियो।
भूमिहीनलाई जग्गाधनी पुर्जा दिने तयारी
मन्त्री रावलले भूमिहीन नागरिकलाई आफू लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट हटाइने हो कि भन्ने चिन्ता हटाउन आवश्यक रहेको बताइन्। सरकारले भूमिहीनको समस्या समाधानका लागि काम गरिरहेको उल्लेख गर्दै उनले कानुनी जटिलताका कारण रोकिएका काम अघि बढाइएको जानकारी दिइन्।
लामो समयदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व उपलब्ध गराउने क्रममा रहेका कानुनी अड्चन हटाएर जग्गाधनी पुर्जा वितरण गर्ने सरकारको योजना रहेको उनले बताइन्।
“जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो, त्यो गरिसकेका छौँ। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ,” मन्त्री रावलले भनिन्।
सरकारले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।

















प्रतिक्रिया