तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्दै जनताको विश्वास कायम राख्न आफूहरू प्रयत्नशील रहेको बताएका छन्।
नेपाली कांग्रेस म्याग्दे गाउँकार्यसमितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले जनतामा अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे। जनताको यही विश्वासलाई कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने उनको भनाइ थियो।
पौडेलले पार्टीका आन्तरिक विषयमा मात्रै अल्झिएर राष्ट्रिय जिम्मेवारीलाई बिर्सन नहुने धारणा राखे। पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।
कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गर्दै पौडेलले पार्टी लोकतन्त्रप्रति जिम्मेवार रहेको जिकिर गरे। जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए।
आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै महामन्त्री पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताए। जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।
पौडेलले कांग्रेसको छवि सुधार, पार्टीभित्रको एकता र जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।

















प्रतिक्रिया