उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । ब्रेक फेल भएपछि अनियन्त्रित भएको जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका छन् ।
घाइते हुनेमा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय नृपबहादुर खड्का, झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर तथा उनका छोराछोरी १४ वर्षीय रेहान भुजेल र ७ वर्षीया प्रिन्सिका भुजेल रहेका छन् ।
त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी छोरी ३५ वर्षीया लिसना मगर, कटारी–२ की ६० वर्षीया गोमा श्रेष्ठ, कटारी–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दीक्षित दाहाल घाइते भएका छन् ।
दुर्घटनामा कटारी–११ की २१ वर्षीया निर्मला राउत, सोही ठाउँकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल पनि घाइते भएका छन् ।
घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका चालक खड्कालाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया