काठमाडौं । काठमाडौँको जडीबुटीस्थित एक गेस्टहाउसबाट १२० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नम्बर ६ बाट पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूलाई गेस्टहाउसको कोठाभित्र ब्राउनसुगरको किनबेच तथा कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
उनीहरूको साथबाट १२० ग्राम ब्राउनसुगर, दुई थान मोबाइल फोन र नगद ४ हजार ५५० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध, मोबाइल फोन र नगदसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ।
लागूऔषध कारोबार नियन्त्रण गर्न निगरानी
काठमाडौँका विभिन्न गेस्टहाउसलाई प्रयोग गरेर लागूऔषधको अवैध कारोबार तथा ओसारपसार हुन सक्ने आशंकामा सुरक्षा निकायले निगरानी बढाएको जनाइएको छ।
लागूऔषध कारोबार नियन्त्रणका लागि विशेष सूचनाका आधारमा निगरानी तथा कारबाही अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइनेछ।

















प्रतिक्रिया