रौतहटमा चक्रवातको जोखिम, नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह


रौतहट । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको सम्भावित प्रभावले हावाहुरी, भारी वर्षा र चट्याङको जोखिम बढ्न सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कात्तिक १२ देखि १५ गतेसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने जनधनको क्षति रोक्न पूर्वतयारीमा जुट्न सबै पक्षलाई अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामा नदी तथा खोलाको आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । बाढी र डुबानको जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान तथा स्थानान्तरणमा समस्या भए स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग सहयोग लिन प्रशासनले अनुरोध गरेको छ ।

रातिको यात्रा नगर्न प्रशासनको आग्रह

सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । यात्रा गर्नुपर्ने अवस्था आएमा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र प्रस्थान गर्न सुझाव दिइएको छ ।

यात्राका क्रममा मौसम बिग्रिएमा जबर्जस्ती गन्तव्यमा पुग्ने प्रयास नगरी नजिकैको सुरक्षित स्थानमा आश्रय लिन पनि प्रशासनले आग्रह गरेको छ ।

जोखिममा रहेका नागरिकको सुरक्षामा जोड

सम्भावित विपद्का बेला बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बिरामी बढी जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रतिकूल मौसमका कारण कृषि उपजमा क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै किसानलाई धान काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य सम्भव भएसम्म कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न प्रशासनले अनुरोध गरेको छ ।

बाढीको निगरानी र उद्धारको तयारी गर्न निर्देशन

प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि माथिल्लो तटीय क्षेत्रमा बाढीको अवस्था निरन्तर निगरानी गर्न, सम्बन्धित निकायबीच सूचना आदानप्रदान प्रभावकारी बनाउन र पूर्वसूचना प्रणालीलाई चुस्त राख्न आग्रह गरेको छ ।

स्थानीय तह, सुरक्षा निकाय तथा विपद् स्वयंसेवकलाई आवश्यक समन्वय कायम गरी विपद् आइपरे तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा रहन पनि भनिएको छ ।

प्रशासनले सम्भावित चक्रवातको प्रभावलाई सामान्य रूपमा नलिई समयमै सावधानी अपनाउन जोड दिएको छ । सरकारी निकायसँगै नागरिकको सक्रियता र सहकार्यबाट सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने प्रशासनको भनाइ छ ।

आपत्कालीन अवस्थामा सम्पर्क गर्न आग्रह

विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा सहयोगका लागि प्रशासनले निम्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

  • नेपाल प्रहरी: १००
  • सशस्त्र प्रहरी बल: ११४४
  • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४

प्रशासनले सबैलाई आधिकारिक सूचनामा ध्यान दिन, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।