इमरानलाई तत्काल भारतबाट ननिकाल्न बम्बे उच्च अदालतको आदेश


मुम्बई । बलिउड अभिनेता इमरान खानले भारत छाड्नुपर्ने सूचनाविरुद्ध बम्बे उच्च अदालतबाट अन्तरिम राहत पाएका छन् । अदालतले मुद्दाको अर्को सुनुवाइ नभएसम्म केन्द्र सरकारको आदेश कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

अदालतले यस मुद्दामा आगामी नोभेम्बर २ मा दिउँसो ३ बजे अर्को सुनुवाइ गर्ने तय गरेको छ । सुनुवाइका क्रममा अतिरिक्त सोलिसिटर जनरलले मुद्दाको सुनुवाइ सोमबारसम्म सार्न आग्रह गर्दै त्यस अवधिमा अभिनेताविरुद्ध कुनै बाध्यकारी कारबाही नगरिने मौखिक आश्वासन दिएका थिए ।

यसअघि मुम्बई प्रहरीले अक्टोबर १० मा अगस्त क्रान्ति मैदानमा भएको विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर इमरानलाई सूचना जारी गरेको थियो । उक्त सूचनामा विदेशी तथा आप्रवासनसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको थियो ।

इमरानले उक्त सूचनालाई बम्बे उच्च अदालतमा चुनौती दिएका थिए । उनले कुनै ठोस आधारबिना गलत बुझाइका कारण सूचना जारी गरिएको दाबी गरेका छन् । सूचनालाई स्वेच्छाचारी भन्दै आफूलाई ‘बलिको बोको’ बनाउन खोजिएको आरोपसमेत उनले लगाएका छन् ।

आफ्नो निवेदनमा इमरानले भारतमा बसोबास गर्ने विदेशी नागरिकले पनि संविधानको धारा १४ र २१ अन्तर्गत कानुनी संरक्षण पाउनुपर्ने तर्क गरेका छन् । अमेरिकी नागरिक रहेका इमरानसँग हाल ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्ड रहेको बताइएको छ ।

बालकलाकारदेखि बलिउडको मुख्य अभिनेतासम्म

इमरानले सन् १९८८ मा बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेका थिए । सन् २००८ मा चलचित्र ‘जाने तू… या जाने ना’ मार्फत मुख्य अभिनेताका रूपमा पदार्पण गरेपछि उनी चर्चामा आएका थिए ।

त्यसपछि उनले ‘किडन्याप’, ‘ब्रेक के बाद’, ‘मत्रु की बिजली का मन्डोला’, ‘एक मैं और एक तू’, ‘बम्बे टकिज’ र ‘गोरी तेरे प्यार में’ लगायतका चलचित्रमा अभिनय गरे । सन् २०१५ मा ‘कट्टी बट्टी’ मा देखिएपछि उनले चलचित्र अभिनयबाट लामो विश्राम लिएका थिए ।

अदालतको अन्तरिम आदेशसँगै इमरानले तत्काल भारत छाड्नुपर्ने अवस्था टरेको छ । यद्यपि, उनको भारत बसाइसम्बन्धी विवादको अन्तिम निर्णय भने आगामी सुनुवाइ र अदालतको आदेशमा निर्भर हुनेछ ।