काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरले चलचित्रको उक्त क्षेत्रको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएका हुन्।
पिएनएम एलएलसीले चलचित्रको अमेरिका र क्यानडाको प्रदर्शन अधिकार खरिद गरेको हो। यी दुई देशमा चलचित्र प्रदर्शन हुने मिति भने वितरक र निर्माताबीचको छलफलपछि तय गरिने निर्देशक मगरले बताएका छन्।
चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक सामग्रीले दर्शकमाझ चर्चा बटुलिरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। अन्य गीतहरू पनि टिकटक, रिल्स र सर्ट्समा रुचाइएका छन्।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई ‘जलाकी’ भनिन्छ। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको उनले बताएका छन्।
चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन्। त्यस्तै, बालकलाकार मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरको पनि अभिनय रहेको छ।
यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।

















प्रतिक्रिया