सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो ५ करोड भ्युज


काठमाडौं – नेपाली फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पार गरेको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो सफलता हासिल गरेको हो।

गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्‍याइदिए। मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ।’

खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ। गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको आकर्षक प्रस्तुति रहेको छ। यसको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन्।

युट्युबमा लोकप्रिय बनेको यो गीतले टिकटक र इन्स्टाग्राम रिल्समा समेत दर्शकको ध्यान खिचेको छ।

गत वैशाख २५ गते नेपालमा प्रदर्शन भएको ‘लालीबजार’ले सफलतापूर्वक ५१ दिन मनाएको थियो। दसैँको अवसरमा ओटीटी प्लेटफर्म डिगोमा रिलिज भएको फिल्मले डायस्पोराका नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।