काठमाडौं – कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर, अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको छ।
दाजुभाइबीचको आत्मीयता, आपसी विश्वास, एकता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइका रूपमा देखिएका छन्। गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको दृश्यसमेत समेटिएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्ध र समकालीन नेपाली समाजको कथामा आधारित सामाजिक चलचित्र हो। लेखक सुशील पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै फिल्मले वर्तमान नेपाली समाजका विषयवस्तु प्रस्तुत गर्नेछ। फिल्मको कथा, पटकथा तथा संवाद पौडेलले लेखेका हुन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय रहेको छ।
श्याम तामाङको छायाङ्कन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।
फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भीएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्।
दाजुभाइबीचको प्रेम, विश्वास र एकताको भाव बोकेको गीत सार्वजनिक भएसँगै ‘पाँच पाण्डव’को प्रचारप्रसारले गति लिने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया