सिक्किमबाट सुरु भयो ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन


काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन्।

निर्देशक चौहानका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो। सोमबार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएका छन्।

छायाङ्कन शुभारम्भ कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो।

‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा विस्तार गर्ने उद्देश्यले ‘कलेजी’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन्। नयाँ चलचित्रमा काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ।

“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।

नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गरिने चलचित्रले अघिल्लो फिल्मसँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्नेछ।

आर्टमाण्डुको निर्माणमा बन्ने चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायाङ्कनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। चलचित्रमा कोविद बज्रको संगीत रहनेछ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।

प्रेम र मानवीय संवेदनाले भरिएको ‘ऊनको स्वीटर’को भावनात्मक संसारलाई निरन्तरता दिन लागेको ‘कलेजी–ऊनको स्वीटर’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।