विपद् जोखिम न्यूनीकरणमा प्रविधिको उपयोग र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आग्रह


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न क्षेत्रीय सहकार्य, अन्तरिक्ष प्रविधि र तथ्याङ्क आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) द्वारा आयोजित अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले लाङटाङ लिरुङ क्षेत्रमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका विपद् र त्यसबाट जनधन तथा जलविद्युत् आयोजनामा पुगेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा उत्पन्न विपद् केही घण्टामै सयौँ किलोमिटर टाढासम्म फैलिन सक्ने भएकाले वर्षाको पूर्वानुमान मात्रै पर्याप्त नहुने बताए ।

द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार हालैका विपद्को कुल आर्थिक प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर पुगेको र पुनःप्राप्ति तथा पुनर्निर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले सन् २०२६ देखि २०३० सम्मको अवधिमा उपग्रहबाट प्राप्त तथ्याङ्क आदानप्रदान, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई थप सुदृढ बनाउन क्षेत्रीय साझेदारहरूलाई आग्रह गरे । हिमनदी, हिमताल र अस्थिर पहाडी ढलानको नियमित अनुगमन तथा जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले उपग्रहबाट प्राप्त सूचना, जमिनमा गरिने मापन र स्थानीय समुदायको ज्ञानलाई एकीकृत गरेर विपद् पूर्वतयारी प्रभावकारी बनाउन सकिने बताए । अन्तरिक्ष प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगले जलविद्युत्, सिँचाइ तथा जलाधार व्यवस्थापनलाई सुरक्षित बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान करिब ०.०१ प्रतिशत मात्रै भए पनि सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्‍याए । स्वच्छ ऊर्जा प्रणालीको विकास र जलवायु उत्थानशीलता बढाउन क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले बताए ।

सम्मेलनका अवसरमा नेपाल र ईएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद पनि आयोजना गर्ने तयारी रहेको उनले जानकारी दिए । उक्त संवादले हिमालीदेखि तटीय क्षेत्रसम्म फैलिन सक्ने शृङ्खलाबद्ध विपद्को जोखिम, पूर्वसूचना प्रणाली र प्रविधिको उपयोगबारे क्षेत्रीय अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेको छ ।