सीमा सुरक्षा र समन्वयमा केन्द्रित नेपाल–भारत बैठक काठमाडौंमा सुरु


काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । बैठकमा सहभागी हुन भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् ।

सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

बैठकमा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार तथा अवैध हातहतियारको कारोबार नियन्त्रणका लागि दुवै पक्षबाट भएका प्रयासको समीक्षा गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी, सीमा व्यवस्थापन संयन्त्रको मार्गदर्शनअनुसार दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माणका विषयमा पनि छलफल हुनेछ । सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा त्यहाँ बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने विषयलाई समेत बैठकले प्राथमिकता दिनेछ ।

नेपाल र भारतबीचको खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमनलाई नियमन गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोगबारे समेत छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिहरू सहभागी छन् । भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

द्विपक्षीय बैठकले सीमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउँदै सीमापार अपराध नियन्त्रण र दुवै देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।