काठमाडौँ । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेपछि आएको भीषण बाढीले भुटान र भारतको सीमावर्ती क्षेत्रमा त्रास फैलिएको छ। मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेपछि भारतको पश्चिम बङ्गाल प्रशासनले उत्तर बङ्गालका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बङ्गाल प्रशासनले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। सङ्कोश नदी र यसका सहायक नदी आसपासका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार शुक्रबार राति आएको बाढीले गसा जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका संरचनामा क्षति पुर्याएको छ। बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।
यद्यपि घटनामा हालसम्म मानवीय क्षति वा कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन। रातिको समयमा आएको बाढी, अँध्यारो र पानीको तीव्र बहावका कारण भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।
भुटानी सञ्चारमाध्यम कुएनसेलका अनुसार लाया गाउँ हुँदै तातोपानी क्षेत्र जाने सडकका केही भाग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ। बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
हिमताल फुटेको सूचना प्राप्त हुनासाथ पश्चिम बङ्गाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै रेड अलर्ट जारी गरिएको छ।
दार्जिलिङका सांसद राजु बिष्टले पनि सामाजिक सञ्जालमार्फत सङ्कोश नदी र यसका सहायक नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। उनले दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अपिल गरेका छन्।
यसैबीच, भारतीय प्रशासनले सम्भावित जोखिम व्यवस्थापनका लागि राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) तथा सुरक्षाकर्मी परिचालन गरेको छ। नदीमा पानीको बहाव र बाढीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहका अनुसार हजारौँ मानिसलाई विद्यालय भवनमा स्थापना गरिएका राहत शिविर तथा सुरक्षित स्थानमा सारिएको छ। राहत शिविरहरूमा खानेकुरा, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ।
पछिल्लो जानकारीअनुसार नदीमा पानीको बहाव केही घटेको भए पनि प्रशासनले जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता कायम राखेको छ।
के हो हिमताल विस्फोटजन्य बाढी (GLOF)?
हिमताललाई रोकिराख्ने प्राकृतिक बाँध फुट्दा वा भत्किँदा तालमा सञ्चित ठूलो मात्राको पानी एकैपटक तल्लो क्षेत्रमा बग्ने प्रक्रियालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) भनिन्छ।
यस्तो बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याउन सक्छ। भुटानको गसा जिल्लास्थित वाकिला पहाडमुनि रहेको शिन्ताफु ताललाई देशका जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा देखिने परिवर्तनले यस्ता प्राकृतिक विपद्को जोखिमलाई थप गम्भीर बनाएको छ। भुटानमा भएको पछिल्लो घटनाले हिमाली क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको नियमित अनुगमन र पूर्वसूचना प्रणालीको आवश्यकतालाई पुनः उजागर गरेको छ।

















प्रतिक्रिया