काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राप्त सूचनाअनुसार, आज दिउँसो १२ बजेसम्म जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।
जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो साइरन बजाउने र एसएमएसमार्फत सूचना प्रवाह गर्ने तयारी गरिएको छ।
मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा भएमा बाँधको सुरक्षाका लागि मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्ने सूचनामा उल्लेख छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। रातिको समयमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
जलाशयको गेट खोल्नुपर्ने अवस्था आएमा निर्धारित प्रक्रियाअनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाउनुका साथै एसएमएसमार्फत सूचना पठाइने जनाइएको छ। यसका लागि प्राविधिक टोली फिल्ड तथा कन्ट्रोल रुममा तयारी अवस्थामा रहेको सूचनामा उल्लेख छ।
सम्भावित जोखिमबाट बच्न सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आधिकारिक सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ।


















प्रतिक्रिया