कर्णाली याक्सको विदेशी खेलाडीमा जिशन अलाम थपिए


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि कर्णाली याक्सले बंगलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा आबद्ध गरिएको जानकारी दिएका हुन्। उनका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रमको ब्याटिङ थप बलियो बन्ने अपेक्षा गरिएको छ।

२१ वर्षीय जिशन ब्याटिङ अलराउन्डर हुन्। उनले बंगलादेशका उमेर समूहका टोली हुँदै राष्ट्रिय ‘ए’ टोलीबाट समेत खेलिसकेका छन्। उनी बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट पनि प्रतिस्पर्धा गरिसकेका छन्।

जिशन कर्णाली याक्समा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि टोलीले बंगलादेशकै अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ।

जिशनले लिस्ट ‘ए’ क्रिकेटका ४९ खेलमा १ हजार २९५ रन बनाएका छन्। त्यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ५७१ रन बनाएका छन्।

जिशनको अनुबन्धसँगै कर्णाली याक्सले एनपीएलका बाँकी खेलमा ब्याटिङ पक्ष थप मजबुत बनाउने लक्ष्य राखेको छ।