एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै, दुवै टोली जितको खोजीमा


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेल आजको एकमात्र खेल हो।

प्रतियोगितामा जनकपुर बोल्ट्सले हालसम्म दुई खेल खेलेको छ। जसमा एक खेलमा जित र एक खेलमा हार बेहोर्दै २ अंक जोडेको छ। जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजय भोगेको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।

यता पोखरा एभेन्जर्सले भने हालसम्म एक खेल खेलेको छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

एकातिर जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने अर्कोतिर पोखरा प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुने देखिन्छ।