काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज एक मात्र खेल हुँदैछ। पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्।
जनकपुरले यस संस्करणमा दुई खेल खेल्दा एक जित र एक हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै पुनरागमन गरेको थियो।
यता, पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। त्यसैले पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।
हेड टु हेडमा बराबरी प्रतिस्पर्धा
एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर र पोखराबीच दुई खेल भएका छन्। ती दुवै खेलमा एक–एक जित निकाल्दै दुवै टोलीले बराबरी गरेका छन्।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको थियो। तर दोस्रो संस्करणमा पोखराले २५ रनको जित निकाल्दै जनकपुरसँग बदला लिएको थियो।
यसरी अघिल्ला भेटमा दुवै टोलीको जित बराबर रहेकाले आजको खेलमा कसले अग्रता लिन्छ भन्ने चासो बढेको छ।
यसैबीच, वर्षाका कारण हिजो लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए। हिजै भएको अर्को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई पाँच ओभरमा ३५ रनले पराजित गरेको थियो।

















प्रतिक्रिया