काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान गरिएको छ। सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले थापाको राजदूत नियुक्तिसम्बन्धी प्रस्तावमाथि निर्णय गर्ने समितिले जनाएको छ।
यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उनको नियुक्तिसम्बन्धी निर्णय रोकिएको थियो। सुनुवाइमा समिति सदस्य सांसदहरूले विदेशी मुलुकको स्थायी बसोबास अनुमति लिएको व्यक्तिलाई राजदूत नियुक्त गर्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न उठाएका थिए।
सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थासँगै उनले पीआर त्यागेको समयावधिबारे थप स्पष्टता माग गरेका थिए।
यस विषयमा यकिन जानकारी लिन संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग आवश्यक विवरण माग गरेको थियो। तर, समितिले माग गरेको विवरणको जवाफ अहिलेसम्म प्राप्त नभएको जनाइएको छ।
जापान सरकारबाट जवाफ नआइसकेकै अवस्थामा समितिको बैठक बस्न लागेको हो। बैठकमा थापाको पीआर त्यागसम्बन्धी विषय र संविधानको व्यवस्थाबारे छलफल गरी उनको नियुक्तिका विषयमा निर्णय लिइने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया