कांग्रेसले बनाउने भयो प्रतिपक्षी दलहरूको साझा मोर्चा


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको साझा मोर्चा निर्माणका लागि पहल गर्ने भएको छ। विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे त्यसको प्रतिरोध गर्न साझा रणनीति बनाउने उद्देश्यसहित कांग्रेसले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउन खोजेको हो।

सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले साझा मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले सरकारका कदमविरुद्ध साझा धारणा र रणनीति तय गर्न कांग्रेसले सोमबार दिउँसो १ बजे अन्य विपक्षी दलहरूको बैठक बोलाएको बताए।

उनका अनुसार पछिल्लो समय चर्चामा रहेको अदालत, बिचौलिया र प्रहरी प्रशासनसँग जोडिएको विषयमा पनि विपक्षी दलहरूसँग छलफल गरिनेछ। ती विषयमा साझा धारणा बनाएर संयुक्त रूपमा अघि बढ्नेबारे बैठकमा छलफल हुने उनले जानकारी दिए।

कांग्रेसले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको रक्षा आफ्नो साझा चासोको विषय भएको भन्दै विपक्षी दलहरूबीच सहकार्य आवश्यक रहेको ठानेको छ। त्यसैअनुसार अन्य दलसँग छलफल गरी सरकारका कदमप्रति साझा रणनीति बनाउने तयारी गरेको हो।

दिउँसो हुने विपक्षी दलहरूको बैठकबाट साझा मोर्चाको स्वरूप, सहकार्यका विषय र आगामी रणनीतिबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।