संसद् अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएर संसद्को नियमित कामकारबाही अघि बढाउनुपर्ने निर्णय कांग्रेस संसदीय दलको बैठकले गरेको हो।

सोमबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरिएको भनिएको प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने मागसमेत अघि सारेको छ।

प्रमुख सचेतक थापाका अनुसार उक्त प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा कांग्रेसले आशङ्का व्यक्त गरेको छ। त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताइन्।

बैठकमा प्रेस स्वतन्त्रता, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्नुपर्ने विषयमा पनि छलफल भएको थापाले जानकारी दिइन्।

कांग्रेसले संसद्को अधिवेशन आह्वान र अदालतमा सेटिङ भएको भनिएको प्रकरणको छानबिनलाई प्रमुख मागका रूपमा अघि सारेको छ। संसदीय दलको बैठकका निर्णय कार्यान्वयनका लागि सरकारसँग पहल गर्ने कांग्रेसको तयारी छ।