ओखलढुंगा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ओखलढुंगामा जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने भएको छ। सोमबार बसेको जिल्ला तहका नेताहरूको भेलाले अधिवेशनको मिति तय गरेको हो।
१५औँ महाधिवेशन तयारी समितिका ओखलढुंगा संयोजक बालगोविन्द राजभण्डारी, केन्द्रीय प्रतिनिधि गोमा केसी, नवनिर्वाचित पालिका सभापति तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापतिहरूको भेलाले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको नेता डेकराज भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार जिल्लाका पालिका तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। कात्तिक २१ गते हुने जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
यसैबीच, नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका तय गरेको छ। उक्त कार्यतालिकाअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र नेतृत्व चयनलाई लिएर फरक–फरक पक्षले आ–आफ्नो तयारी अघि बढाइरहेका बेला ओखलढुंगामा देउवा समूहले जिल्ला अधिवेशनको मिति तय गरेको हो।

















प्रतिक्रिया