पत्रकार पक्राउको घटनामा संसद्बाटै छानबिन गर्न कांग्रेसको माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार पक्राउका घटनाको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। सरकारले स्वेच्छाचारी ढङ्गले काम गरिरहेको र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाउँदै कांग्रेसले पत्रकार धरपकडका घटनालाई गम्भीर रूपमा लिएको जनाएको हो।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ परेका घटनाको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको छ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताए। जनमतका आधारमा बनेको सरकारले पनि संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसले स्पष्ट कानुनी आधार वा अदालतको अनुमतिबिना समाचार कक्षमै प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएको छ। आङदेम्बेले पक्राउको कानुनी आधार र अदालतको अनुमति नभई सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब भएको टिप्पणी गरे।

उनले भने, ‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो।’

कांग्रेसले सरकारले कानुनी प्रक्रिया र जवाफदेहिताको सिद्धान्तअनुसार काम नगरेको आरोपसमेत लगाएको छ। यस्ता गतिविधिले संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन व्यवस्था लाद्ने प्रयास भइरहेको पार्टीको दाबी छ।

पत्रकार धरपकड तथा अन्य विवादित घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ। साथै, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने चेतावनी पनि आङदेम्बेले दिएका छन्।

कांग्रेसले संसदीय छानबिन समितिमार्फत घटनाको तथ्य सार्वजनिक गर्नुपर्ने र राज्यका निकायलाई कानुनी सीमाभित्र रहेर काम गर्न जिम्मेवार बनाउनुपर्ने धारणा अघि सारेको छ।