वीरेन्द्रनगरमा अर्थमन्त्रीहरूको जमघट, वित्तीय सङ्घीयतामाथि बहस


सुर्खेत । वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गर्न ६ वटा प्रदेशका अर्थमन्त्री कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन्। सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशका अर्थमन्त्रीहरू छलफलमा सहभागी हुन वीरेन्द्रनगर पुगेका हुन्।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशको वित्तीय अधिकार, स्रोत बाँडफाँट र वित्तीय सङ्घीयता कार्यान्वयनका चुनौतीलगायत विषयमा बहस हुने जनाइएको छ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईका अनुसार वित्तीय सङ्घीयताको अभ्यासलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रदेश सरकारहरूले भोगिरहेका वित्तीय समस्या र अधिकार कार्यान्वयनका विषयमा साझा धारणा बनाउन पनि छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।

कार्यक्रम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सभाहलमा आयोजना गरिएको छ। सुदूरपश्चिमबाहेकका ६ प्रदेशका अर्थमन्त्रीहरूको सहभागिताले प्रदेश सरकारका वित्तीय सवालमा साझा छलफल र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।