‘रास्वपालाई हावामा भोट हालिएछ भन्नेमा बुद्धिजीवी प्रस्ट भइसके’ : प्रचण्ड


बर्दिबास । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गर्नेहरूमा आफ्नो मतप्रति पुनर्विचार गर्ने धारणा विकास हुँदै गएको दाबी गरेका छन्। उनले बौद्धिक समुदायले रास्वपालाई दिएको मत ‘हावामा गएको’ निष्कर्ष निकालिसकेको टिप्पणी गरे।

महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैली अलोकतान्त्रिक रहेको आरोप लगाए। सरकारका गतिविधिबारे आम नागरिकले पनि बुझ्न थालेको उल्लेख गर्दै उनले बौद्धिक समुदाय भने यस विषयमा स्पष्ट भइसकेको दाबी गरे।

उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’

प्रचण्डले पार्टीले सञ्चालन गर्ने जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिबारे जनतालाई जानकारी गराउने बताए। अभियानका क्रममा सरकारका कामकारबाहीको आलोचना र विरोध गर्ने उनको भनाइ थियो।

सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीले तयारी गरिरहेको उनले जानकारी दिए। परिस्थिति र आवश्यकताका आधारमा आन्दोलनका कार्यक्रम अघि बढाइने उनले बताए।

यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग सघन छलफल भइरहेको प्रचण्डले बताए। यसबारे चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ छ।

प्रचण्डका पछिल्ला अभिव्यक्तिमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको जागरण अभियान र सम्भावित आन्दोलनलाई अघि बढाउने संकेत देखिएको छ।