सिङ्टन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचन सकिएलगत्तै इरानमाथि पुनः सैन्य कारबाही सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ। इरानसँगको कूटनीतिक वार्ता जारी रहेकै बेला नेतान्याहुले सैन्य विकल्प अघि बढाउन दबाब दिएको समाचारमा उल्लेख छ।
समाचार संस्था एक्सियोसका अनुसार शनिबार नेतान्याहु र ट्रम्पबीच इरानसँगको वार्ता तथा सम्भावित सैन्य कारबाहीबारे टेलिफोन संवाद भएको थियो। उक्त संवादपछि ट्रम्पले आइतबार कुराकानी ‘धेरै राम्रो’ भएको प्रतिक्रिया दिएका थिए।
प्रतिवेदनअनुसार नेतान्याहु इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्ने पक्षमा छन्। तर, ट्रम्प भने तत्काल कूटनीतिक वार्तालाई निरन्तरता दिने पक्षमा रहेको बताइएको छ। यद्यपि, उनले वार्ताको प्रयाससँगै सैन्य विकल्पलाई पनि खुला राखेका छन्।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएको जनाइएको छ। कतारका मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका छन्। उनले कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयास जारी रहेको बताउँदै अमेरिकाले पनि वार्ताकै बाटो रोज्ने विश्वास व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच कूटनीतिक संवादको प्रयास भइरहेका बेला इजरायलले सैन्य विकल्पका लागि दबाब दिइरहेको प्रतिवेदनले देखाएको छ। वार्ता अघि बढ्ने वा पुनः सैन्य टकरावको अवस्था आउने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।

















प्रतिक्रिया