प्रधानमन्त्रीको उपस्थितिमा सचिव बैठक, के–के भए निर्णय ?


काठमाडौँ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कालोबजारी नियन्त्रण र सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत निर्णय गरेको हो।

बैठकले चाडपर्वका बेला उपभोक्तालाई ठगी तथा अस्वाभाविक मूल्यवृद्धिबाट जोगाउन बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। त्यसका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउँदै बजारमा हुने अनियमितता नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाउने तथा उपभोक्तालाई मर्का पर्ने गतिविधि रोक्न सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बैठकको निष्कर्ष रहेको छ।

बैठकले सरकारी सेवा प्रवाहको अवस्थासमेत अनुगमन गर्ने निर्णय गरेको छ। सरकारी कार्यालयबाट प्रदान हुने सेवा चुस्त, दुरुस्त र प्रभावकारी भए–नभएको विषयमा निगरानी बढाइने भएको छ।

मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो। सामान्यतया महिनाको सोमबार बस्ने बैठक दसैँ बिदाका कारण यसपटक सोमबार बसेको हो।

बैठकमा बजार अनुगमन, कालोबजारी नियन्त्रण र सरकारी सेवा प्रवाहसँगै समसामयिक विषयमा पनि छलफल भएको एक सचिवले जानकारी दिएका छन्। बैठकका निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायले आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ।