काठमाडौँ । काठमाडौँको चाबहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल ओरालोमा दुर्घटना भएको हो। गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको बा.प्र. ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको सुवेदीले बताए।

















प्रतिक्रिया