काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका बेला आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्रीको बिक्री–वितरणमा रोक लगाएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्रीका लागि विभिन्न स्थानसमेत तोकेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न र नगराउन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने महानगरले चेतावनी दिएको छ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा माला सहज रूपमा बिक्री गर्न महानगरले सरोकारवाला निकायसँग समन्वय गरी मल, मार्ट, चौर तथा खुला स्थानहरू निर्धारण गरेको जनाएको छ।
यी स्थानमा पाइनेछन् स्वदेशी फूलमाला
महानगरले बानेश्वर–शंखमूल क्षेत्रमा एनबी सेन्टर, आइप्लेक्स मल, सेल्सबेरी र बिग मार्ट शंखमूल तोकेको छ। चाबहिल–सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि फूलमाला बिक्री गर्न सकिनेछ।
कालिमाटी–कलंकी–स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्क तोकिएका छन्। त्यस्तै, गोङ्गबु–माछापोखरी–नयाँ बजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टमा बिक्रीस्थल रहनेछन्।
हाँडीगाउँ–महाराजगञ्ज–बालुवाटार क्षेत्रमा हाँडीगाउँ वडा नं. ५ अगाडिको डबली, वडा नं. ५ को गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्ट तोकिएका छन्।
सिटी सेन्टर तथा मुख्य सहरी क्षेत्रमा काठमाडौँ मल, भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी र न्युप्लाजामा फूलमाला बिक्री गर्न सकिनेछ। यसबाहेक बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र कोटेश्वर स्मार्टमा पनि बिक्रीस्थल तोकिएको महानगरले जनाएको छ।
महानगरले तिहारका बेला स्वदेशी फूलमालाको बिक्री व्यवस्थित गर्न र प्लास्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्न तोकिएका स्थानमा मात्रै व्यापार गर्न आग्रह गरेको छ।


















प्रतिक्रिया