बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की, ५ करोड माग


मुम्बई । बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती मागिएको छ। कथित रूपमा लरेन्स बिश्नोई गिरोहका सदस्य बताउने ‘ह्यारी बक्सर’ नामका व्यक्तिले फोन गरेर धम्की दिँदै रकम मागेको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ।

घटनापछि अभिनेता कपुरले मुम्बई प्रहरीमा उजुरी दिएका छन्। उनको उजुरीका आधारमा प्रहरीले अनुसन्धानको जिम्मेवारी एन्टी–एक्सटर्सन सेल र क्राइम ब्रान्चलाई दिएको छ।

क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्कीपूर्ण फोन कलको अडियो रेकर्डिङ विस्तृत रूपमा परीक्षण गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले आफ्नो डेटाबेसमा रहेको ‘ह्यारी बक्सर’को आधिकारिक आवाजको नमुनासँग फोनमा सुनिएको आवाज तुलना गरेको थियो।

वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार दुवै आवाज मेल खाएका छैनन्। त्यसपछि उक्त फोन कल नक्कली हुन सक्ने आशङ्का गरिएको छ। कसैले त्रास फैलाउने उद्देश्यले लरेन्स बिश्नोई गिरोहको नाम दुरुपयोग गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

धम्की दिने व्यक्तिको वास्तविक पहिचान र घटनाको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक आवाज परीक्षणबाट फोन गर्ने व्यक्ति ‘ह्यारी बक्सर’ नै भएको पुष्टि नभए पनि धम्कीपूर्ण कल कसले गरेको हो भन्ने खुलेको छैन।