श्रममन्त्री यादव र आइएलओ कन्ट्री डाइरेक्टरबीच भेट, रोजगार केन्द्र सुदृढीकरणमा छलफल


काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपालस्थित कन्ट्री डाइरेक्टर नुमान ओज्जानबीच भेटवार्ता भएको छ।

सोमबार मन्त्रालयमा भएको भेटमा नेपालका ७५३ वटै स्थानीय तहमा सञ्चालित सीप, रोजगार तथा उद्यमशीलता केन्द्रहरूको सुदृढीकरणबारे छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा मर्यादित रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको थियो।

त्यसैगरी, नेपालमा सञ्चालन भइरहेका श्रम तथा रोजगारसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने र तिनको कार्यान्वयन सुदृढ गर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ।