काठमाडौँ । सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने हल्ला भ्रामक र निराधार रहेको दाबी गरेको छ। प्रहरी संगठनभित्रको आन्तरिक सूचना चुहावटबारे सामान्य सोधपुछ मात्रै भएको भन्दै सरकारले आईजीपीमाथि कारबाही गर्न खोजिएको भन्ने समाचारको खण्डन गरेको हो।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीभित्रको संवेदनशील सूचना चुहावटको विषयलाई लिएर बाहिर गलत सूचना फैलिएको बताए।
उनका अनुसार प्रहरी संगठनभित्रका आन्तरिक तथा संवेदनशील सूचना बाहिरिएको विषयमा प्रहरीले आफ्नै संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ गरेको हो।
‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ प्रवक्ता पोखरेलले भने, ‘यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो।’
पत्रकार सम्मेलनमा उनले कुनै पनि सञ्चारकर्मी वा पत्रकारलाई पक्राउ गर्न सरकार वा प्रधानमन्त्रीका तर्फबाट निर्देशन नदिइएको पनि स्पष्ट पारे।
बरु सूचना चुहावटबारे सोधपुछका क्रममा प्रहरीले कसैलाई नियन्त्रणमा लिएको भए तत्काल रिहा गर्न प्रधानमन्त्रीबाटै निर्देशन भएको उनले बताए।
‘कुनै किसिमको हिरासतमा राख्नेभन्दा पनि सोधपुछ गर्ने काम मात्र भएको हो। नियन्त्रणमा रहेको भए तुरुन्त रिहा गर्नु भन्ने कुरा प्रधानमन्त्रीज्यूबाटै भएको हो,’ उनले भने।
सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्ने आरोपको समेत प्रवक्ता पोखरेलले खण्डन गरे। नेपालको संविधानले सञ्चारमाध्यमलाई प्रदान गरेको अधिकार र प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ।
सरकारले आईजीपीको राजीनामा मागिएको, पत्रकार पक्राउ गर्न निर्देशन दिएको तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको भन्ने चर्चालाई अस्वीकार गर्दै प्रहरीको आन्तरिक सूचना चुहावटसम्बन्धी विषयलाई सामान्य सोधपुछका रूपमा व्याख्या गरेको छ।

















प्रतिक्रिया