काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहार तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्। समितिले सार्वजनिक गरेको तिथिअनुसार कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ।
त्यस्तै, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको समितिले जनाएको छ।
कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।
समितिले भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिमतर्फ र दिदीबहिनी पूर्वतर्फ फर्किनुपर्ने जनाएको छ।
तिहारका पर्व र मिति
- कात्तिक २० गते, शुक्रबार : धनत्रयोदशी (धन्तेरस) र यमदीपदान
- कात्तिक २१ गते, शनिबार : काग तिहार तथा धन्वन्तरि जयन्ती
- कात्तिक २२ गते, आइतबार : नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा
- कात्तिक २३ गते, सोमबार : गाईपूजा
- कात्तिक २४ गते, मंगलबार : गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा; नेपाल संवत् ११४७ प्रारम्भ
- कात्तिक २५ गते, बुधबार : यमद्वितीया तथा भाइटीका (शुभसाइत बिहान ११ः०७ बजे)


















प्रतिक्रिया