कर्णालीको विकास र सहकार्यबारे मुख्यमन्त्री–इजरायली राजदूतबीच छलफल


सुर्खेत । कर्णाली प्रदेशको कृषि विकास, प्रविधि हस्तान्तरण र युवाका लागि रोजगारीका अवसर विस्तार गर्ने विषयमा मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच छलफल भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्धका साथै कर्णाली प्रदेशको समग्र विकासमा सहकार्यका सम्भावनाबारे कुराकानी भएको हो।

भेटका क्रममा राजदूत बासले नेपाल र इजरायलबीचको पुरानो सम्बन्ध स्मरण गर्दै कर्णालीको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न इजरायल सरकार सकारात्मक रहेको बताएका थिए।

छलफलमा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आधुनिक प्रविधि कर्णालीको भौगोलिक अवस्था र आवश्यकताअनुसार प्रयोगमा ल्याउने विषयले प्राथमिकता पाएको छ। त्यसैगरी, ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने र इजरायलबाट फर्किएका जनशक्तिले सिकेको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने विषयमा पनि सकारात्मक कुराकानी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।

सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने, जनस्तरको सम्बन्ध बलियो बनाउने तथा विपद् व्यवस्थापन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको प्रवक्ता शाहीले बताए।

मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका सम्भावना उजागर गर्न इजरायलको अनुभव, दक्षता र आधुनिक प्रविधि उपयोगी हुने विश्वास व्यक्त गरे। कृषि उत्पादन वृद्धि, सीप विकास र प्रविधिको प्रयोगमार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उनको भनाइ थियो।

भेटवार्ताले कर्णालीको कृषि, खानेपानी, युवा सीप विकास र रोजगारीका क्षेत्रमा नेपाल–इजरायल सहकार्य विस्तारका सम्भावनाबारे संवाद अघि बढाएको छ।