बुटवल । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा निवासी पाण्डेयलाई कोषको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले गत वैशाख १९ गते ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेको थियो। उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लुम्बिनी विकास कोषका पदाधिकारीसहित विभिन्न निकायका पदाधिकारी पदमुक्त भएका थिए।
त्यसपछि गत असारमा कोषका १२ पदका लागि आवेदन आह्वान गरिएको थियो। सदस्य सचिव पदका लागि मात्रै २०९ जनाले आवेदन दिएका थिए। तर, आवेदन प्रक्रियामा सहभागी नै नभएका पाण्डेयलाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको हो।
यसअघि कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ कार्यरत थिए।
पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदादेखि नै उनको सचिवालयमा निकट रहेर काम गर्दै आएका थिए। पछिल्लो समय उनी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए।
कोषको सदस्य सचिवमा पाण्डेयको नियुक्तिसँगै आवेदन प्रक्रियामा सहभागी नभएका व्यक्तिलाई जिम्मेवारी दिइएको विषयले पनि चासो उत्पन्न गरेको छ।
















प्रतिक्रिया