पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको छ। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११ ओभर ४ बलमै दुई विकेट गुमाएर पूरा गरेको हो।

यो जितसँगै लुम्बिनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। तीन खेल खेलेको लुम्बिनी पाँच अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। निरोशन डिकवेलाले २७ रनको योगदान दिए। ओपनर आशिफ शेख सात रनमा आउट भए भने अर्का ब्याटर १३ रन बनाएर पेभिलियन फर्किए।

पोखराका बिपिन खत्रीले एक विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।

९७ रनमै समेटियो पोखरा

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन जोडे। कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए।

पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए। तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए।

९८ रनको लक्ष्य सहजै पूरा गरेको लुम्बिनीले लगातार तेस्रो खेलमा अपराजित रहँदै अंकतालिकामा आफ्नो पकड बलियो बनाएको छ। लगातार तीन हार व्यहोरेको पोखराका लागि भने प्रतियोगितामा पुनरागमन गर्ने चुनौती थपिएको छ।