आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च जाने तयारीमा


काठमाडौँ । सरकारबाट प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । सरकारले आफूलाई पदबाट हटाउने निर्णय गरेपछि कार्कीले कानुनी उपचार खोज्ने तयारी गरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि कार्कीले कानुन व्यवसायी अधिवक्ता स्वागत नेपालसँग अदालत जाने विषयमा परामर्श गरेका छन् । अधिवक्ता नेपालका अनुसार कार्कीले अब के गर्ने भन्ने विषयमा सल्लाह मागेका थिए ।

‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँबाहेक अर्को बाटो छैन भनेको छु,’ अधिवक्ता नेपालले भने ।

कार्की निकट एक प्रहरी अधिकारीका अनुसार सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी भइरहेको छ । त्यसका लागि यसअघि अदालतले गरेका यस्तै प्रकृतिका निर्णय र पुराना नजिरहरूको अध्ययन भइरहेको उनले बताए ।

ती अधिकारीका अनुसार रिट आजै दर्ता गर्ने प्रयास भइरहेको छ ।