नवीकरणीय ऊर्जालाई नवीन प्रविधि र स्थानीय उद्यमसँग जोड्न ऊर्जामन्त्रीको जोड


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले पछिल्लो तीन दशकमा नवीकरणीय ऊर्जा क्षेत्रमा भएका उपलब्धिलाई मात्र पर्याप्त मानेर नहुने बताए । बदलिँदो समय र आवश्यकताअनुसार यस क्षेत्रलाई आर्थिक गतिविधि र स्थानीय उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनको उच्च जोखिमलाई ध्यानमा राख्दै केन्द्रीय ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास पनि अपरिहार्य रहेको मन्त्री श्रेष्ठले बताए । स्थानीय आवश्यकताअनुसार ऊर्जाको उत्पादन र उपयोगलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले आगामी दिनमा ‘एलपी ग्यासमुक्त पालिका’को अवधारणालाई पनि अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए । यो अभियान ऊर्जा कार्यक्रम मात्रै नभई स्थानीय तहको आर्थिक विकास र ऊर्जामा आत्मनिर्भरता हासिल गर्ने नयाँ अभ्याससमेत भएको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकताको अध्ययन गरेर योजना बनाउनुपर्ने बताए । ग्यासमुक्त पालिकाको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।