साइबर ब्युरोले कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई बोलायो


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। काठमाडौँबाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन गरेर ब्युरोमा उपस्थित हुन भनिएको हो।

शिवाकोटीले आफू काठमाडौँ फर्कँदै गरेको र साइबर ब्युरोमा जाने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको भय र भ्रमबाट विचलित नहुने उल्लेख गर्दै आफूलाई खोज्न प्रहरी परिचालन गर्न आवश्यक नभएको बताएका हुन्।

‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु,’ उनले लेखेका छन्।

शिवाकोटीले पछिल्ला केही दिनदेखि सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आएका छन्।

ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो।