अपराजित लुम्बिनी र हारको बदला लिने लक्ष्यमा जनकपुर, आज आमनेसामने


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

लिगमा उत्कृष्ट लयमा रहेको लुम्बिनी जनकपुरविरुद्ध पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ। लुम्बिनीले यसअघि खेलेका तीनमध्ये दुई खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। पाँच अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ।

लुम्बिनीले आफ्नो पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको थियो।

यता जनकपुर बोल्ट्स भने पछिल्लो खेलमा विराटनगर किंग्ससँग दुई रनले पराजित भएको थियो। चार खेल खेलेको जनकपुरले दुईमा जित र दुईमा हार बेहोरेको छ। चार अंकसहित टोली अंकतालिकाको चौथो स्थानमा छ।

जनकपुरले आफ्नो अघिल्लो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो। त्यसैले लुम्बिनीविरुद्ध जित निकाल्दै जनकपुर पुनः लयमा फर्कने प्रयासमा हुनेछ।

दुवै टोलीबीचको पछिल्लो प्रतिस्पर्धा पनि रोचक देखिन्छ। यस खेलमा लुम्बिनी आफ्नो अपराजित लय कायम राख्न चाहन्छ भने जनकपुर बलियो प्रतिद्वन्द्वीलाई हराउँदै अंकतालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।