बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन्।
डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार रहेका छन्।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
















प्रतिक्रिया