मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारीमा कमला पुल, सडक सीमाभित्रका संरचना हटाइँदै


जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ। आगामी मङ्सिरदेखि कमला पुल सञ्चालनमा ल्याउने तयारीसँगै सडक क्षेत्र खाली गराउने काम अघि बढाइएको हो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र रहेका घर, टहरा तथा घुम्ती पसल हटाउन थालेको छ। पटकपटक सूचना जारी गर्दा पनि सम्बन्धित व्यक्तिले संरचना नहटाएपछि कार्यालय आफैँले हटाउने काम अघि बढाएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।

उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण सडक निर्माण तथा विस्तारको काम प्रभावित हुँदै आएको छ। सडक क्षेत्र खाली हुन नसक्दा कतिपय स्थानमा निर्माणकार्यसमेत सुरु हुन सकेको छैन। आवश्यक परे बल प्रयोग गरेर भए पनि अनधिकृत संरचना हटाइने उनले बताए।

धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुल आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको महतोले जानकारी दिए। पुल सञ्चालनमा आएपछि उक्त सडकखण्डमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सीमाभित्रका संरचना हटाउन थालिएको उनको भनाइ छ।

मङ्सिरको पहिलो साता प्रधानमन्त्री वालेन्द्र साहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत भइरहेको उनले बताए।

बाढीले भत्काएको पुल पुनर्निर्माण अन्तिम चरणमा

कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। विसं २०७८ असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलका पिलर भाँचिएपछि निर्माण सम्पन्न हुन सकेको थिएन। पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको थियो।

पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक तथा अन्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि निर्माणले गति लिएको महतोले बताए। उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सवलीकरण तथा सुपर स्ट्रक्चरको स्ल्याब ढलान कार्य अन्तिम चरणमा पुगेको छ।

पुलका दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मङ्सिरदेखि सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।

हुलाकी सडकको ३४७ किलोमिटर कालोपत्र

हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटरमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भएको छ। उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कुल ५७ दशमलव ५२ किलोमिटर सडकमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ।

धनुषामा कुल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन अवस्थामा छ। महोत्तरीमा कुल ९३ दशमलव पाँच किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर निर्माण हुन बाँकी छ।

त्यस्तै, सर्लाहीमा कुल १६६ दशमलव दुई किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको रायले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाभित्रका घरटहरा हटाउन भएको ढिलाइ र विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ।

सडक विस्तारसँगै ग्रामीण अर्थतन्त्रमा सुधार

हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले बताएका छन्। सडक निर्माणले गाउँ र बजारबीचको दूरी घटाउनुका साथै कृषिउपजको बजारीकरण, व्यापार व्यवसाय र जग्गाको मूल्यमा समेत वृद्धि भएको उनीहरूको अनुभव छ।

सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताका अनुसार हुलाकी सडक विस्तार तथा स्तरोन्नतिले जिल्लाका आधा दर्जन स्थानीय तहको विकासमा योगदान पुर्‍याएको छ। सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीलाई आवागमन तथा दैनिक कामकाजमा सहज भएको उनले बताए।

धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहले हुलाकी राजमार्ग निर्माणसँगै आसपासका क्षेत्रमा जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार पहिले प्रतिकठ्ठा २० लाख रुपैयाँमा मुस्किलले बिक्री हुने जग्गा अहिले ६० देखि ७० लाख रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

धनुषाको विदेह नगरपालिकाका व्यापारी अशोक साहका अनुसार पहिले सडक जीर्ण हुँदा गाउँबाट बजारसम्म आउन स्थानीयवासीलाई कठिनाइ हुने गरेको थियो। अहिले आवागमन सहज भएपछि गाउँका उपभोक्ता बजारसम्म पुगेर किनमेल गर्न थालेका छन्। सडक निर्माणपछि व्यापार व्यवसायसमेत बढेको उनको भनाइ छ।

नेपालले गरेको रेखाङ्कनअनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको हुलाकी राजमार्गको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर छ। मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेसँगै ग्रामीण क्षेत्रलाई यातायात सञ्जालसँग जोड्ने क्रम जारी छ।