काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासि तीव्र वृद्धि भएको छ। अमेरिकामा हालै सम्पन्न सिनेट निर्वाचनको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दल रिपब्लिकन पार्टीलाई धक्का दिएसँगै विश्व बजारमा सुनको मूल्य उकालो लागेको हो।
केही दिनअघिसम्म प्रतिऔँस ४ हजार अमेरिकी डलरभन्दा तल रहेको सुनको मूल्य अहिले ४ हजार १०० डलरभन्दा माथि पुगेको छ। यसको प्रभाव नेपाली बजारमा समेत देखिएको छ। नेपालमा एकै दिन सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।
अमेरिकी राजनीतिमा आएको फेरबदलले लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन ल्याउँदा सुनको माग बढेको विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनको मूल्यमा आएको यो वृद्धिका पछाडि मुख्यतः चारवटा कारण छन्।
१. डलरको सूचकाङ्कमा गिरावट
निर्वाचनको नतिजा सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर बनेको छ। सुनको कारोबार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमै हुने भएकाले डलरको मूल्य घट्दा अन्य मुद्रा प्रयोग गर्ने लगानीकर्ताका लागि सुन खरिद तुलनात्मक रूपमा सस्तो पर्छ।
यसले विश्व बजारमा सुनको माग बढाउन सहयोग गर्छ। माग बढेसँगै सुनको मूल्यमा पनि वृद्धि हुने गर्छ।
२. नीतिगत र आर्थिक अनिश्चितता
ट्रम्पको पार्टीले चुनावमा धक्का बेहोरेसँगै अमेरिकी संसद्मा शक्ति सन्तुलन परिवर्तन भएको छ। यसले राष्ट्रपति र संसद्बीच नीतिगत मतभेद बढ्न सक्ने तथा कर, वैदेशिक व्यापार र सरकारी खर्चसम्बन्धी नीतिमा अन्योल सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
राजनीतिक तथा आर्थिक अनिश्चितता बढ्दा लगानीकर्ताहरू जोखिमयुक्त शेयर बजारबाट लगानी झिकेर सुरक्षित सम्पत्तिका रूपमा चिनिने सुनतर्फ आकर्षित हुन्छन्। यही कारण सुनको माग बढेर मूल्यमा समेत प्रभाव परेको हो।
३. अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलमा कमी
निर्वाचन परिणामपछि अमेरिकी सरकारी ऋणपत्र (ट्रेजरी) को प्रतिफलमा गिरावट आएको छ। सुन आफैँले ब्याज वा नियमित प्रतिफल नदिने सम्पत्ति हो।
तर सरकारी ऋणपत्र वा बैंकमा पाइने ब्याजदर घट्दा सुनमा लगानी गर्दा गुम्ने सम्भावित प्रतिफल कम हुन्छ। यस्तो अवस्थामा लगानीकर्ताका लागि सुन आकर्षक विकल्प बन्न पुग्छ।
४. फेडरल रिजर्भको ब्याजदर रणनीति
अमेरिकी राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर घटाउन सक्ने अनुमान पनि बढेको छ।
ब्याजदर घट्ने अपेक्षाले डलर र ऋणपत्रको प्रतिफलमा दबाब सिर्जना गर्न सक्छ। यसको प्रभाव सुन तथा चाँदीजस्ता बहुमूल्य धातुको मूल्यमा पर्न सक्छ।
यसरी अमेरिकी राजनीतिक घटनाक्रम, डलरको अवस्था, आर्थिक अनिश्चितता र ब्याजदरसम्बन्धी अपेक्षाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाउन भूमिका खेलेका छन्।

















प्रतिक्रिया