ढाका । बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र विश्व राजनीतिक उतारचढावका बीच पनि चीन र बङ्गलादेशले एकअर्कालाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी मन्त्री लिउ हाइछिङले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि दुवै देश एकअर्काको साथमा उभिने बताएकी हुन्।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले चीन र बङ्गलादेशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा ‘बङ्गलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्र’ को औपचारिक उद्घाटनसमेत गरिएको थियो।
‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नारासहित आयोजित कार्यक्रममा दुवै देशका प्रमुख राजनीतिक दलका वरिष्ठ नेता, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिलाका विज्ञ तथा व्यवसायीहरूको सहभागिता थियो।
कार्यक्रममा राजनीतिक दलहरूबीच संवाद, अनुभव आदानप्रदान तथा शासन सञ्चालनसम्बन्धी अध्ययन र सहकार्यलाई संस्थागत बनाउने विषयमा छलफल गरिएको थियो।
नवनिर्मित अध्ययन केन्द्रलाई चीन र बङ्गलादेशबीच राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। यसले दुवै देशबीच शासन सञ्चालनका अनुभव आदानप्रदान र आपसी सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
हाइछिङ पाकिस्तान भ्रमण सम्पन्न गरी बङ्गलादेश पुगेकी हुन्। यसअघि पाकिस्तान र बङ्गलादेशले पनि आपसी सम्बन्ध सुदृढ बनाउन विशेष अध्ययन संयन्त्र स्थापना गर्ने सहमति गरेका थिए।
चीन र बङ्गलादेशबीचको पछिल्लो प्रतिबद्धता तथा नयाँ अध्ययन केन्द्रको स्थापनालाई क्षेत्रीय सहकार्य र द्विपक्षीय सम्बन्ध विस्तारको प्रयासका रूपमा हेरिएको छ।

















प्रतिक्रिया